डोल्पा, १२ मंसिर । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् ।
डा. शर्माले डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँ र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन् ।
स्वास्थ्य सेवासँगै शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने बताए । त्यस्तै, काठमाडौँमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा खरिद गरेर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाए । आर्थिक अवस्था कमजोर भएका र काठमाडौँमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज नभएसम्म खानाको व्यवस्था गरिदिने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्