राजनीति

कांग्रेस राजनीतिकको विश्वविद्यालय हो : महामन्त्री पौडेल



काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए । महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे । उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे ।

महामन्त्री पौडेलले भने “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपर्छ ।”

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ ।

उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए।

उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे ।