काठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराती अन्दाजी २ः१० बजेको समयमा पामेको गैह्राकोचौतरा नजिकै दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो ।
कारका चालकले नियन्त्रण गुमाउँदा कार अचानक सडकबाट फेवातालमा खसेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकाली तत्काल थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो । तर, अस्पताल पुर्याइएपछि बिहान ४:३४ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ । घटनाबारे थप अनुसन्धानका लागि सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्