समाचार

नेपालले वेस्ट इन्डिजलाई दियो १३३ रनको लक्ष्य



काठमाडौँ, ३ फागुन । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकिय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।

दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा डेब्यु खेलमै सुबास खकुरेलले हङकङ विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

यस विश्वकपमा पहिलो खेल खेलिसकेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे ।

सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थियो ।

यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्‍यो ।