समाचार

हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ



काठमाडौँ, ५ फागुन । सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’ नै चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई त हवाई फायर नै गरेर नियन्त्रणमा लिनु परेको हो । उसको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको छ ।

बेलुका ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–८ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना अनुसार चन्दलाई शङ्कास्पद अवस्थामा फेला परेको र उनलाई नियन्त्रण गर्न खोज्दा उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषधसहित भाग्न खोज्दा प्रहरी टोलीले बल प्रयोग स्वरूप १ राउण्ड हवाई फायर गरेको हो ।

चन्दलाई मंगलबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।