काठमाडौँ, ८ फागुन । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार भएका थिए । उक्त घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले फागुन ६ गते राति ११ बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. १३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. भन्ने राम मिजारलाई पक्राउ गरेको हो ।
उम्मेदवारमाथि अभद्र व्यवहार गरी फरार रहेका उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।
यसअघि बर्दघाट –१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । उम्मेदवार हरिजनले आफूहरू रास्वपाको कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेर आएका १०–१२ जना युवाहरूको समुहले आक्रमण गरेको आरोप लगाएका छन् ।










प्रतिक्रिया दिनुहोस्