विचार/ब्लग

राष्ट्रको लागि दुई घण्टा अभियान : नागरिक चेतना र वातावरणीय उत्तरदायित्वको सन्देश



समाज परिवर्तन केवल नीतिगत निर्णयबाट मात्र सम्भव हुँदैन । त्यसका लागि नागरिकको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। जुन विषय राष्ट्रको लागी २ घन्टा अभियान भक्तपुर २०७९ बाट वातावणीय क्षेत्रमा गरिएको दृष्टान्तबाट स्पष्ट रूपमा सबै कुरा उजागर भएको छ । “राष्ट्रको लागि दुई घण्टा अभियान” ले राष्ट्रप्रेमलाई सर्वोपरि मान्दै व्यवहारमा उतार्ने एउटा सकृय स्वयसेवी संस्थाको रुपमा आफ्नो चिनारी दिएको छ ।

अभियानमा आवद्ध अभियन्ताहरुले हरेक शनिबार विहान स्वयंसेवीय भावले भक्तपुर जिल्लाको सडक, गल्ली, राजमार्ग लगायत विभिन्न सार्वजनिक क्षेत्रमा जम्मा भएर वातावरणीय सडक राजमार्ग सरसफाइ,वृक्षरोपण लगायत वातावरण संरक्षण हेतु जनसचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिरहेका छन् । उनीहरू हातमा, कुटो, झाडु, साबेल, पञ्जा लगायतका औजारहरुलाई साथमा लिदै फोहोर संकलन,रोपिएका बिरुवा गोडमेल/संरक्षण गर्दै वातावरणलाई स्वच्छ बनाउन प्रयास गरेका छन् ।

यसले “सरकार मात्रै जिम्मेवार होइन, नागरिक पनि समाजको संरक्षक हुन्” भन्ने चेतनालाई बलियो बनाएको छ । नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशमा वातावरणीय सरसफाइ अत्यन्त महत्वपूर्ण विषय हो । बढ्दो शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन र नागरिक लापरवाहीका कारण सडक, खोला तथा सार्वजनिक स्थलहरू प्रदूषणको चपेटामा परिरहेका छन् । यस्ता अवस्थामा समुदायको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने अभियानहरूले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन् भन्ने ज्वलन्त उदाहरण हो, राष्ट्रको लागि २ घण्टा अभियान ।

विरुवाको दिगो संरक्षण वृक्षारोपण मात्र गरेर दायित्व पूरा हुँदैन । त्यसको संरक्षण र नियमित हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । यदि रोपिएका बिरुवाहरूलाई जोगाउन सकियो भने मात्रै यसले वातावरण सन्तुलन कायम गर्न, प्रदूषण घटाउन र आगामी पुस्तालाई हरियाली उपहार दिन महत्वपूर्ण भूमिका खेल्छ । यसै उद्देश्यका साथ “बिरुवाको संरक्षण तथा संवर्द्धन कार्यक्रम”लाई सस्था स्थापना देखि हालसम्म निरन्तरता दिईरहेको छ,फलस्वरूप अभियानबाट विभिन्न संघसंस्थाहरुको समन्वय र सहकार्यमा विभिन्न मिति,समयमा रोपिएको विरुवाहरुमा ९५ प्रतिशतभन्दा बढी विरुवालाई जोगाउन सकिएको छ । यस अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको सामुदायिक एकता हो ।

कार्यक्रममा विभिन्न उमेर समूहका मानिसहरू सहभागीता रहेको छ । ज्येष्ठ नागरिकदेखि युवा तथा महिला सबैले हातेमालो गरेका छन् । यसले सामाजिक समावेशिता र सहकार्यको संस्कृतिलाई बढाएको छ । जब समाजका सबै वर्ग एकै उद्देश्यका लागि जुट्छन्, तब परिवर्तनको गति अझ प्रभावकारी हुन्छ । साथै, यस्ता अभियानहरूले नागरिकमा जिम्मेवारीको भावना विकास गराउँछन् । यदि प्रत्येक व्यक्तिले आफ्नो समयको केही अंश समाज र राष्ट्रको लागि खर्च गर्न सके भने विकासका धेरै काम सहज रूपमा सम्पन्न हुन सक्छन् । दुई घण्टाको सानो प्रयासले पनि वातावरण सफा राख्न, हरियाली बढाउन र सामाजिक चेतना फैलाउन ठूलो योगदान दिन सक्छ । यदि यस्तो अभियानलाई निरन्तरता दिन सकियो र समाजका सबै तहले यसलाई अपनाए भने स्वच्छ, हरित र जिम्मेवार नेपाल निर्माण गर्ने लक्ष्य अवश्य पनि साकार हुन सक्छ ।

नबराज काफ्ले

महासचिव

राष्ट्रका लागि २ घण्टा अभियान भक्तपुर