भक्तपुर, ८ चैत । पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरद्वारा आयोजित प्रारम्भिक योग प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भई ४० जना प्रशिक्षार्थी औपचारिक रूपमा दिक्षित भएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित नन्दिकेश्वर योग साधना केन्द्रमा शनिबार सम्पन्न विशेष समारोह मार्फत उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । बाग्मती प्रदेशकी सांसद शकुन्तला श्रेष्ठ तथा पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उत्तीर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्रसहित दिक्षा प्रदान गरिएको जिल्ला शाखा भक्तपुरकी अध्यक्ष रिता पाख्रिनले जानकारी दिनुभयो ।
कार्यक्रमले योग शिक्षालाई संस्थागत र व्यवस्थित रूपमा विस्तार गर्ने अभियानलाई थप ऊर्जा प्रदान गरेको विश्वास गरिएको छ । २०८२ फागुन २ गतेदेखि सञ्चालनमा आएको उक्त तालिमले स्थानीय तहमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएको थियो । तालिमबाट दीक्षित योग प्रशिक्षकहरूले सूर्यविनायक नगरभित्र योगको व्यापक प्रचार–प्रसार गर्दै जनसमुदायलाई स्वस्थ जीवनशैलीतर्फ अभिमुख गराउने अपेक्षा गरिएको छ ।
नन्दिकेश्वर साधना केन्द्रका अध्यक्ष श्रीराम ब्यान्जुले यो तालिम समुदायमा योगको प्रभावकारी विस्तारका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै संरक्षक बालमुकुन्द सुवालले ‘योगको उपमाले विभूषित’ भक्तपुर जिल्लाका ३८ वटै वडामा योग अभ्यासलाई सुदृढ र प्रभावकारी बनाउन दक्ष योग प्रशिक्षकहरूको आवश्यकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
पातञ्जल योग समिति नेपालले वि.सं. २०७५ सालदेखि नेपाल सरकारको स्वीकृति लिदै योगको प्रवर्द्धन, विकास र विस्तारका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । संस्थाले देशका तीन दर्जनभन्दा बढी जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ भने विभिन्न तहका तालिममार्फत हालसम्म ५ हजारभन्दा बढी योग प्रशिक्षक उत्पादन गरिसकेको महासचिव तथा संगठन विभाग प्रमुख नवराज काफ्लेले जानकारी दिनुभयो। वागमती प्रदेश माननीय शकुन्तला श्रेष्ठले यस प्रकारका तालिम कार्यक्रमहरूले योगलाई केवल अभ्यासको विषय नभई जनस्वास्थ्य, अनुशासन र समग्र जीवनशैलीसँग जोडिएको सशक्त अभियानका रूपमा स्थापित गर्दै लगेको औल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्