काठमाडौँ, २७ चैत । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीस्थित सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान साढे ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय राम लखन यादव र पछाडि सवार भारतीय नागरिक सुपौल जिल्ला हनुमाननगर ग्राम पञ्चायत–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
प्रहरीका अनुसार यादवको साथबाट नेपाली रुपैयाँ ५ लाख १ हजार ५०५ र भारतीय रुपैयाँ ५ हजार ३५० फेला परेको छ । त्यस्तै, मुखियाको साथबाट नेपाली १ लाख ४७ हजार २०५ र भारतीय ७ हजार ६०० रुपैयाँ बरामद गरिएको छ ।
उनीहरूको साथबाट कुल नेपाली ६ लाख ४८ हजार ७१० र भारतीय १२ हजार ९५० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई हुण्डी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्