काठमाडौँ, ३० चैत । अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । एसियाली बजार खुल्नेबित्तिकै इन्धनको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै ऊर्जा बजारमा हलचल मच्चिएको छ । अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य ८.५ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३७ डलर पुगेको छ । यस्तै, वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) ९ प्रतिशतले वृद्धि भई १०५.३४ डलर कायम भएको छ ।
गत साता वासिङ्टन र तेहरानबीच दुई साताका लागि ससर्त युद्धविराम र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मोज’ व्यापारिक मार्ग खोल्ने सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा तल झरेको थियो । तर, वार्ता विफल भएसँगै विश्वव्यापी ऊर्जा सङ्कट थप गहिरिने चिन्ता बढेको छ ।
विश्वको कुल ऊर्जा ढुवानीको पाँचौँ हिस्सा ओगट्ने यो समुद्री मार्ग अहिले युद्धको मुख्य केन्द्र बनेको छ । गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण यहाँबाट हुने ढुवानी ठप्प प्रायः छ । भारत र मलेसियाजस्ता केही मुलुकले आफ्ना जहाजका लागि सुरक्षित मार्गको पहल गरे पनि विश्वव्यापी रूपमा इन्धन आपूर्ति प्रभावित भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्