काठमाडौँ, १ बैशाख । हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
आज मौसममा पहाडी र हिमाली क्षेत्रमा केही फेरबदल आउने सम्भावना छ । कोशी प्रदेशका पहाडी भू-भाग र देशका हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सङ्केत देखिएको छ । अन्य पहाडी भू-भागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने घाम लाग्ने र मौसम खुला रहने अनुमान महाशाखाले गरेको छ ।
देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिएको छ । पहाडी र हिमाली क्षेत्रमा हुने यो मौसमी फेरबदलले तापक्रम र जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्