काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई पक्राउ गरेको हो ।
गत जेठ ७ गते दिउँसो करिब १२ः४० बजेको समयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठामै बसिरहेको अवस्थामा शिक्षक ओझाले कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका ती विद्यार्थीको हेटौँडा अस्पतालमा उपचारको लागि पुर्याइएको थियो ।
हेटौँडा अस्पतालमा उपचार नभएपछि उनलाई चितवन स्थित नयाँ मेडिकल कलेज पुर्याइएको छ । घाइते विद्यार्थीको हाल नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ । अस्पतालका अनुसार बालकको अवस्था मध्यम रहेको छ ।
पीडितका बुबा रामकृष्ण भुजेलले शनिबार बालबालिका विरुद्धको कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले शिक्षक ओझालाई शनिबार साँझ ६ः४५ बजे हेटौँडा–६, पुतलीबजारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्