समाचार

गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ



काठमाडौँ, २७ जेठ । झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र वडा सचिवसहित चारजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष र कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वर्तमान वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडा सचिव राजेश कुमार कहार र तत्कालीन कार्यालय सहायक मिना चौधरी रहेका छन् । यसैगरी झुट्टा विवरणका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने राजपुर गाउँपालिका ४ का आलम जोल्हालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्नका लागि कुनै पनि योग्यता नपुगेका गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा कायम गराई कागजात मिलाइएको खुलेको छ । वडा अध्यक्ष, वडा सचिव र तत्कालीन कार्यालय सहायकको प्रत्यक्ष संलग्नता र मिलेमतोमा ती गैरनेपालीलाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने काम भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चारैजना विरुद्ध नागरिकता सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।