समाचार

जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, २९ जेठ । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहाका ६५ वर्षीय विपिनकुमार झा रहेका छन् ।

आज बिहान ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित जनकपुर डिजल सेन्टर पेट्रोल पम्पबाट तेल हालेर निस्किँदै गरेको जेसीबीमा झाले चलाएर महेन्द्रनगर तर्फबाट जनकपुर आउँदै गरेको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका झाको साइ ट्रमा अस्पताल जनकपुरमा उपचारको क्रममा बिहान ९ः३५ बजे मृत्यु भएको हो ।

जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।