विश्व

अमेरिकी बी–५२ बमवर्षक विमान दुर्घटना, आठजनाको मृत्यु



काठमाडौँ, २ असार । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना अखडामा बी–५२ स्ट्र्याटोफोट्र्रेस बमवर्षक विमान उडान भरेको केही समयपछि दुर्घटना भएको हो ।  

प्रारम्भिक जानकारी अनुसार विमानमा सवार आठै जनाको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे भएको समाचार एजेन्सी एपीले अमेरिकी वायुसेनालाई उद्धृत गर्दै जनाएको छ । विमानले उडान भरेपछि पर्याप्त उचाइ लिन नसकी एयरबेस नजिकैको मरुभूमि क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

एडवड्र्स वायुसेना अखडाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जारी गरेको प्रारम्भिक विवरणमा दुर्घटनामा कोही पनि जीवित बचेको सम्भावना अत्यन्त कम रहेको जनाएको छ । घटनापछि आपतकालीन उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालन गरिएको थियो ।

हवाई दृश्यहरूमा विमानको भग्नावशेष पूर्ण रूपमा नष्ट भएको देखिएको छ । दुर्घटनापछि रनवे नजिकैको मरुभूमि क्षेत्रमा आगलागी भएको र त्यहाँबाट कालो धुवाँको ठूलो मुस्लो निस्किएको देखिएको थियो । 

विमानमा हतियार रहेको वा नरहेको विषयमा अमेरिकी सेनाले कुनै जानकारी सार्वजनिक गरेको छैन । चालक दलका सदस्यहरूको परिचय पनि तत्काल खुलाइएको छैन ।

दुर्घटनाको कारण तत्काल स्पष्ट भएको छैन । उड्डयन सुरक्षाविज्ञ जेफ गुजेट्टीका अनुसार विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त हुनु उडान नियन्त्रण प्रणाली, इन्जिनको खराबी वा परीक्षण भइरहेको कुनै उपकरणमा समस्या आएको संकेत हुन सक्छ । तर, उनले अहिले नै निश्चित निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन् । एपी