समाचार

लागूऔषधसहित सासु बुहारी पक्राउ



सुनसरी, ७ असार । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित सासु र बुहारीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

जाँच तथा खानतलासीका क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागूऔषध फेला परेको हो । झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । लागूऔषधसहित सासु बुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।