राजनीति

इरानमाथि भीषण सैन्य हमला गर्ने ट्रम्पको धम्की



अमेरिका, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि एक पटक कडा सैन्य हमला गर्ने धम्की दिएका छन् ।

लेबनानमा सक्रिय आफ्नो ‘प्रोक्सी’ समूह हिजबुल्लाहलाई नियन्त्रणमा राख्न चेतावनी दिँदै ट्रम्पले इरानले त्यसो नगरे अमेरिकाले निकै भीषण आक्रमण गर्ने बताएका हुन् । वार्ता जारी रहेकै बेला अमेरिकी राष्ट्रपतिको यस्तो कडा टिप्पणीले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । 

आइतबार साँझ सामाजिक सञ्जालमा एक पोस्टमा उनले भनेका छन्, ‘यदि इरानले लेबनानमा आफ्नो प्रोक्सी (हिजबुल्लाह) लाई समस्या उत्पन्न गर्नबाट रोकेन भने उसले गत हप्ताको भन्दा पनि शक्तिशाली र भीषण सैन्य हमलाको सामना गर्नुपर्नेछ ।’ 

इजरायलले लेबनानमा आफ्ना आक्रमणहरू जारी राखेको छ । इजरायलको यस कदमबाट क्रुद्ध बनेको इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज जलसन्धि’ पुनः बन्द गर्ने धम्की दिएको छ ।