राजनीति

धानबालीका लागि मलको अभाव हुँदैन : मन्त्री चौधरी



काठमाडौँ, २३ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध हुने बताएकी छन् ।

आज राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका लागि आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पारेकी हुन् । 

उनले भनिन्, ‘हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ । र जिटुजीमार्फत थप ५० हजार मेट्रिक टन चाँडै आपूर्ति हुने क्रममा रहेको छ । यसरी धान सिजनका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने देखिन्छ । मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध हुने प्रतिवद्धता भएको व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराउन चाहन्छु । साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्य योजना समेत तयार भईसकेको जानकारी गराउँदछु । रसायनिक मलको वितरण तथा उपलब्धताको गुनासो सुन्नका लागि संघीय मन्त्रालय, प्रादेशिक मन्त्रालयहरुमा गुनासो सुन्ने सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ ।’

उनले सरकारले कृषकहरूका लागि आवश्यक पर्ने उन्नत बीउविजनको पनि कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।