काठमाडौँ, २४ असार । रास्वपा सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू)को हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि युरोपेली संघको हवाई सुरक्षा सूचीमा निरन्तर रहँदै आएको र सन् २०२६ सम्म पनि नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीहरूले युरोपेली मुलुकमा उडान सञ्चालन गर्न नपाएको उल्लेख गरिन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत तथा नीतिगत सुधारलाई प्रभावकारी बनाउनुका साथै हवाई सुरक्षा मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरअनुसार सुदृढ गर्न आधुनिक प्रविधि र दक्ष जनशक्ति व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताइन् ।
यसले नेपालको पर्यटन, वैदेशिक लगानी तथा समग्र आर्थिक विकासमा प्रतिकूल असर परेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय स्तरमा नेपालको हवाई सुरक्षासम्बन्धी नकारात्मक छविका कारण देशको विश्वसनीयतामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनले बताइन् ।










प्रतिक्रिया दिनुहोस्