राजनीति

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन



काठमाडौँ, २६ असार  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो ।

यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनलाई वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।