राजनीति

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : गगन थापा



काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्महादको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।’

उनले कठिन घडीमा गणेश आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
उनले थपेका छन्, ‘उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ। विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।’

उनले यस्ता घटना दोहोरिनाले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्ने बताएका छन्। उनले भनेका छन्, ‘एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?’