राजनीति

बागमती प्रदेश  ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा



हेटौँडा, २७ असार । बागमती प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ ।

हेटौँडामा शुक्रबार आयोजित विशेष समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको सहकार्यमा सञ्चालन हुँदै आएको अभियानले सडकमा कष्टकर जीवन बिताइरहेका असहाय नागरिकको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापनाको प्रयासलाई संस्थागत रूप दिएको छ ।

घोषणा कार्यक्रममा मुख्यमन्त्री बानियाँले घोषणा मात्रै अन्तिम उपलब्धि नभई यसको निरन्तर कार्यान्वयन सबैभन्दा ठूलो चुनौती भएको बताए । उनले प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त अवस्थामै कायम राख्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तह, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा नागरिक समाजलाई समेत अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

‘घोषणा गरेर मात्रै हुँदैन । यसलाई निरन्तरता दिन सबैको साझा जिम्मेवारी छ । बागमती प्रदेश सरकार आफ्नो दायित्व पूरा गर्न तयार छ,’ उनले भने, ‘अन्य सरोकारवालाले पनि उत्तिकै जिम्मेवारीका साथ काम गर्नुपर्छ ।’