काठमाडौँ, ३० असार । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिने बताएको छ ।
मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै नेपालको शान्ति सुरक्षा र छिमेकी देशको विरोधमा रहेका कुनै पनि चलचित्रलाई प्रदर्शनको अधिकार दिन नसकिने प्रस्ट पारेको छ ।
मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) मा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु–सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन भन्ने समेतको व्यवस्था रहेको स्मरण गराएको छ ।
“नेपालभित्र सार्वजनिक प्रदर्शन हुने चलचित्रहरूले चलचित्र जाँच समितिमा जाँचपासको लागि निवेदन दिने र सो को आधारमा प्रचलित ऐन, नियमावली बमोजिम जाँचपास भई प्रदर्शन हुने व्यवस्था छ,” मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ, “यस बमोजिम चलचित्र निर्माता, वितरक तथा अन्य सरोकारवालाहरूले ऐनको उक्त प्रावधानलाई पूर्ण रुपमा पालना गर्नु पर्नेहुन्छ ।”
ऐनको व्यवस्था विपरीतका विषयवस्तु समावेश भएका चलचित्रहरू जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने मन्त्रालयले प्रस्ट पारेको छ ।
“ऐनको व्यवस्था विपरीतका विषयवस्तु समावेश भएका चलचित्रहरू जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन सकिने छैन,” परिपत्रमा उल्लेख छ, “यो व्यहोरा निर्माता, वितरक तथा सरोकारवाला सबैलाई पत्राचार तथा आवश्यक समन्वय गरिदिनुहुन तहाँ पठाइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।”










प्रतिक्रिया दिनुहोस्