काठमाडौँ, २ साउन । आम जनता पार्टी (आजपा)ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ ।
आजपा प्रवक्ता सुभाष साहले प्रेस वक्तव्य जारी गर्दै ‘जेन जी’ आन्दोलनको रापतापमा बनेको र दुई–तिहाइ बहुमत पाएको वर्तमान सरकार छोटो अवधिमै अलोकप्रिय बनेको आजपाले दाबी छ । आजपाले दलहरूबीच न्यूनतम राजनीतिक सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकाका कार्यक्रमहरूमा बेलैमा ध्यान दिन सरकारसँग आग्रहसमेत गरेको छ ।
सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको आजपाको दाबी छ । आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको र राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको भन्दै आजपाले चिन्ता जनाएको छ । विकास निर्माणका लागि विनियोजन गरिएको कुल पूँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोरी र न्यून कार्यक्षमता उदाङ्गो पारेको आजपाको ठहर छ ।
देशको सार्वजनिक ऋण तीव्र रूपमा बढेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशत पुगिसकेको उल्लेख गरेका छन्। संकलित राजस्व र वैदेशिक सहायताले चालू खर्चसमेत धान्न नसकेर ऋणको सावाँ–ब्याझ तिर्नकै लागि थप ऋण लिनुपर्ने अवस्था सिर्जना भएको तर्फ सचेत गराइएको छ ।
सरकारले सुरुमा सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीका ठूला कुरा गरे पनि व्यवहारमा आफ्ना नजिकका मानिसहरूलाई मात्र नियुक्ति दिएर नाराको धज्जी उडाएको आरोप लगाइएको छ । मन्त्रालयको संख्या घटाएको प्रचार गरेर सल्लाहकार र स्वकीय सचिवालयको भीड बढाउँदै फजुल खर्च कायमै राखिएको र सरकारले गरेका अधिकांश राजनीतिक निर्णयहरू अदालती आदेशबाट स्थगित वा बदर हुनुले शासकीय अपरिपक्वता झल्काउने विज्ञप्तिमा जनाइएइको छ ।










प्रतिक्रिया दिनुहोस्