Banner News

विद्युत् खपत बढाउने रणनीति तयार गरिरहेका छौँ : मन्त्री श्रेष्ठ



काठमाडौँ, ३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसको खास उद्देश्य नै विद्युत् खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु भएको बताए ।

खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारीसाधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ । विद्युतीय पूर्वाधार निर्माणका लागि रु ८० अर्ब लगानी गरिँदैछ । भरपर्दो प्रसारण, वितरण, आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताए ।

उनले भने, “नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । उद्योग व्यवसायको विस्तार भएको छ । देशभर नै विद्युतीय उपकरणको प्रयोगमा बढोत्तरी भएको छ । विद्युतको माग तीव्र गतिमा बढिरहेको छ । जीर्ण तथा न्यून क्षमताका प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीतिअनुसार नै मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।”