Banner News

सरकार नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ



काठमाडौँ, १५ साउन । गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग नेपाल सरकारले सहमति गरेपछि उनले उक्त कुरा बताएका छन् ।

सहमतिअनुसार मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गरिने, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिनेसहितका सहमति गएराति गुरुङकै उपस्थितिमा पीडित परिवारसँग भएको थियो । 

उक्त सहमतिपछि फेसबुकमार्फत गुरुङले सरकारले पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक निर्णय र कार्यान्वयन छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढाइने बताएका छन्। सहमतिअनुसार मृतकको आजै अन्तिम संस्कार गरिने भएको छ ।

उनले सामाजिक संजालमा भनेका छन्,

मृतकका परिवार र नेपाल सरकारबीच सम्झौता

देवानगञ्ज गाउँपालिका–३, कप्तानगंज मा भएको दुःखद घटनामा ज्यान गुमाउनु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहता प्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकार पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउँदछ।

सहमतिअनुसार:

शहीद घोषणा प्रक्रियालाई तत्काल अघि बढाइने,

प्रत्येक परिवारलाई रु. १० लाख राहत उपलब्ध गराइने,

घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गरिने,

सम्बन्धित कानुनी तथा नीतिगत विषयमा आवश्यक अध्ययन गरिने,

पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने,

छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन गरिने,तथा मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिनेछ।

नेपाल सरकार सत्य, न्याय, कानुनी शासन तथा नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको पुनः विश्वास दिलाउँदछ।

गृह मन्त्रालय

नेपाल सरकार