काठमाडौँ, २० साउन । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजे रेसुङ्गा नगरपालिका-२ धागिथुमस्थित सेतो गुराँस नजिक सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलासका क्रममा बनमाराको झाडीभित्र रहेको सेतो प्लास्टिकको बोरामा एक थान बेसाबुत भरुवा बन्दुक फेला परेको हो ।
बन्दुकलाई कानुनी प्रक्रिया पूरा गरी बरामद गरेर जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको छ । त्यसैगरी मंगलबार दिउँसो रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित मुसीडाँडा क्षेत्रमा पनि बेवारिसे अवस्थामा भरुवा बन्दुकसहित बारुद र छर्रा फेला परेको छ ।
नियमित गस्तीका क्रममा पानी ट्यांकी नजिक उक्त सामग्री फेला पारेको हो । प्रहरीले उक्त स्थानबाट एक थान साबुत भरुवा बन्दुक, करिब १५० ग्राम बारुद, १२ थान छर्रा र १२ थान क्याप बरामद गरी नियन्त्रणमा लिएको छ । बरामद सामग्री हाल प्रहरी चौकी रुरुमा सुरक्षित राखिएको छ । गुल्मीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्