काठमाडौँ, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभर साधारणतया बादल लाग्ने अनुमान छ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाडी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्