काठमाडौँ, २५ साउन । ५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको मृत्यु भएको छ ।
कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको हो । उपलब्ध तथ्यांक अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ ।
जसमा झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन् भने धनुषा र रौतहटमा १–१ जना गरी कुल २ जनाको मृत्यु भएको छ ।
यसैगरी दाङमा १ जनाको मृत्यु भएको छ । मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका हुन् । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्छ । यो मान्छेबाट मान्छेमा भने सर्दैन ।










प्रतिक्रिया दिनुहोस्