काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको छ ।
प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्नु भएका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाउनुभएको हो ।
“बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थप्नुभयो, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।”
साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताउनुभयो।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गर्नुभएको हो। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गर्नुभयो।










प्रतिक्रिया दिनुहोस्