राजनीति

भारत–चीनबीच बढ्दो सहकार्यबाट नेपालले लाभ लिन सक्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ब्रिक्स प्लस देशहरूको दिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको बताएका हुन् ।

नेपालजस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको तथा दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको अल्पविकसित देशले अब कुनै द्विविधामा नरही त्यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्ने भट्टराईको भनाइ छ ।

उनले भनेका छन्, “BRICS प्लस देशहरूको दिल्लीमा भैरहेको शिखर-सम्मेलनको क्रममा पारित १४०-बुँदे प्रस्ताव र चीनियॉं राष्ट्रपति तथा भारतीय प्रधानमन्त्री वीच भएका द्विपक्षीय वार्ताका संकेतहरू निकै सकारात्मक छन्। नेपाल जस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको र दुइ ठूला छिमेकी भारत र चीनको वीचमा रहेको ‘अति कम विकसित’ देश नेपालले अब कुनै द्विविधामा नरही यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्छ। हामीले हिजोको भारत र चीन वीचको दूरीमा खेलेर आफ्नो क्षणिक सत्तास्वार्थ पूर्ति गर्न खोज्ने र अन्ततः देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाइराख्ने अल्पदृष्टि भएका हाम्रा शासकहरूको गल्तीबाट सिक्नैपर्छ। अहुलेको द्विपक्षीय वार्ताको क्रममा चीनियाँ राष्ट्रपतिले प्रयोग गरेका शब्दहरू ” both sides keeping in mind the long-term development of bilateral relations from a strategic perspective” को निहितार्थ र भारतको अगुवाइमा बनेको सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशावोध राम्ररी ठम्याउन सक्नुपर्छ। अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण soft power हासिल नगरी हामी जस्ता सापेक्ष रूपले साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्नै सक्दैनौं। यसनिम्ति आगामी दिनमा चीन र भारत वीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्य (competitive cooperation) को लाभ उठाउन अनिवार्य छ। त्यसकालागि कुशल कुटनीतिक प्रयास मार्फत् हामीले नेपाललाई दुइ छिमेकी वीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’ मा रूपान्तरण गर्ने कार्यको योजनावद्ध शुरूवात आजैदेखि गर्नैपर्छ। अन्यथा ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ भन्ने हाम्रो परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न हामी अभिशप्त हुनेछौं! हाम्रा युवा सत्तधारीहरूको वेलैमा ध्यान पुगोस्!”