सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट युवा तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा कमलामाई नगरपालिका–९ निवासी युवा उद्यमी विष्णुप्रसाद न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।
युवाको सक्रिय सहभागिता, व्यवसायी पुस्ताको प्रतिनिधित्व र पार्टीभित्र नयाँ पुस्ताको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको न्यौपानेले बताएका छन्।
उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न सकिने र आर्थिक रूपमा सबल हुँदै सामाजिक सेवामा योगदान गर्न सकिने मान्यतालाई आफ्नो राजनीतिक अभियानको आधार बनाएको उनले बताएका छन्। साथै, भ्रष्टाचार तथा गलत प्रवृत्तिविरुद्ध दृढ रूपमा उभिँदै स्वच्छ, जिम्मेवार र जनउत्तरदायी राजनीतिक संस्कार निर्माण गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
न्यौपानेले विशेषगरी जेन्जी पुस्ताका चासो, अपेक्षा र विचारलाई पार्टीको संगठन, नीति निर्माण र नेतृत्व तहमा समेट्नुपर्ने आवश्यकता औँल्याएका छन्। बदलिँदो सामाजिक परिवेश र नयाँ पुस्ताको आकांक्षाअनुसार पार्टी संगठनलाई समयानुकूल बनाउनुपर्ने उनको धारणा छ।
नेपाली कांग्रेसले अंगीकार गर्दै आएको लोकतन्त्र, राष्ट्रियता, समाजवाद र जनउत्तरदायी शासन व्यवस्थाका मूल आदर्शलाई आत्मसात गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको न्यौपानेले बताएका छन्।
उनले युवाको अर्थपूर्ण सहभागिता, संगठन सुदृढीकरण, पुस्तान्तरण, उद्यमशीलता प्रवर्द्धन र स्थानीय विकासलाई उम्मेदवारीका प्रमुख आधारका रूपमा अघि सारेका छन्। विशेषगरी कमलाखोंज क्षेत्रको विकास, नागरिक सचेतना अभिवृद्धि तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्न चाहेको उनले बताएका छन्।
“युवालाई केवल पार्टीको कार्यक्रममा सहभागी गराउने मात्र होइन, निर्णय प्रक्रियामै अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्छ। व्यवसाय र उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर हुँदै समाज र राष्ट्र निर्माणमा योगदान गर्न सकिन्छ,” न्यौपानेको भनाइ छ।
महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिहरूले विभिन्न उम्मेदवारमध्येबाट प्रतिनिधि चयन गर्नेछन्। सिन्धुली क्षेत्र नं. १ को अधिवेशन भिमानमा हुने तय भएको छ। अधिवेशन नजिकिँदै गर्दा विभिन्न उम्मेदवारहरूले आफ्ना एजेन्डा, प्राथमिकता र आगामी राजनीतिक भूमिकाबारे क्षेत्रीय प्रतिनिधिहरूसमक्ष धारणा प्रस्तुत गरिरहेका छन्। न्यौपानेको उम्मेदवारीले सिन्धुली कांग्रेसमा युवा नेतृत्व, उद्यमशीलता र पुस्तान्तरणको बहसलाई थप अगाडि ल्याएको देखिन्छ।










प्रतिक्रिया दिनुहोस्