काठमाडौँ, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार स्थानीय रामहरि दासका छोरा अन्दाजी २८ वर्षीय राजेश दास अरविन्द यादव पोखरीमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
पोखरीमा युवक घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट सई विनोद पासवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनास्थल सुरक्षित राख्दै प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट इन्स्पेक्टर रादेश कुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजेशको मृत्यु पोखरीमा डुबेर भएको हो वा अन्य कुनै कारणबाट मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्