समाचार

बालिका अपहरण गरेकाे आरोपमा एक जना पक्राउ



काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन् । उनलाई आइतबार राति तिलोत्तमाकै कान्छी बजारस्थित जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको सकुशल उद्धारपछि अपहरणमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा थारुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेका थिए । बालिका हराएको सूचना पाए लगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जङ्गल क्षेत्रमा खोजी सुरु गरेको थियो ।

खोजीका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार फेला पारेको थियो । त्यसपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जङ्गलबाट बालिकाको सकुशल उद्धार गरेको थियो । अपहरण भएको करिब ३८ घण्टापछि बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको उद्धार भए पनि घटनामा संलग्न थारु फरार थिए । उनको खोजी गर्ने क्रममा आइतबार राति प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।