समाचार

रुखबाट खसेका युवकको मृत्यु



हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका करिब ७ बजे घरबाट ५०० मिटरजति पूर्वतर्फ रहेको सार्वजनिक चौरमा उत्तिसको रुखमा अरिंगाल पोल्ने क्रममा उनी झन्डै २० फिट तल खसेर घाइते भएका थिए । घाइते गोपालीलाई उपचारका निम्ति काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । त्यहाँबाट थप उपचारका निम्ति ललितपुरस्थित पाटन अस्पताल पठाइएको थियो ।

पाटन अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।