काठमाडौँ, २६ असोज । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिलाई उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ ।
प्रस्तावित राजदूतहरूविरुद्धका उजुरीबारे छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल चलाएको छ ।
१३ राष्ट्रका लागि प्रस्तावित राजदूतहरूविरुद्ध चार व्यक्तिबाट सात वटा उजुरी परेकोमा अधिकांश उजुरीकर्ता बैठकमा उपस्थित भएनन् । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने उजुरीकर्ताहरू सम्पर्कविहीन भएका छन् ।
समितिको पटक-पटकको प्रयासका बाबजुद उनीहरू उपस्थित नभएपछि समितिले यस विषयमा गम्भीर चासो व्यक्त गरेको छ । भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने दीपा भण्डारीले भने इमेलमार्फत आफू उपस्थित हुन नसक्ने जनाउँदै समिति समक्ष उजुरी पढेर सुनाउन आग्रह गरेकी छन् ।
बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाका विषयमा समेत बहस भएको छ । कानुनी व्याख्यासम्बन्धी ऐन अनुसार बिदाको दिनपछि सूचना गणना गर्दा प्रभावकारी समय कम हुने भएकाले कार्यालय समयलाई ध्यानमा राखेर आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्