समाचार

कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै



काठमाडौँ, ३१ असोज । फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो । आज विशेषगरी घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याउने चलन छ। फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ ।

स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको छ। केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोकको वृक्ष, माने–कर्कलो र धान– यी नौ पत्रिका मानिएका छन्। बिहान ७ बजेर ३७ मिनेटको शुभ साइतमा फूलपाती भित्र्याउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

परम्पराअनुसार गोरखाबाट ल्याइएको फूलपातीलाई विधिपूर्वक काठमाडौँ ल्याएर हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने गरिन्छ। यस अवसरमा नेपाली सेना, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागितामा विशेष समारोह हुने गरेको छ।

यसरी फूलपाती केवल पूजा सामग्री भित्र्याउने परम्परा मात्र नभई शक्ति, प्रकृति, समृद्धि, पारिवारिक एकता र नेपाली मौलिक संस्कृतिको प्रतीकका रूपमा स्थापित महत्त्वपूर्ण पर्व हो।

नवरात्रको सातौँ दिन देवी ‘कालरात्रि’को पूजा गरिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा र चार हात भएकी तथा उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्। उनको कपाल झाँक्रो फिँजाएजस्तो देखिन्छ भने घाँटीमा बिजुलीसरह चम्किने माला छ। श्वास फेर्दा कहिलेकाहीँ आगोको राँको निस्केजस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो देखिन्छ, तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यी देवीको एक नाम ‘शङ्करी’ पनि हो। कालरात्रि देवीको स्मरण गर्नाले दानव, दैत्य, राक्षस र भूतप्रेत भागेर जान्छन् भनिएको छ। देवीले कालरात्रिको रूप लिएर सबै असुर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा आजलाई लिइन्छ। यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ।