समाचार

ट्रमा उपचार सेवा अब देशभर विस्तार हुने



काठमाडौँ, ३१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छिन् ।

दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनर्स्थापना केन्द्र निर्माण गर्ने काम अघि बढाइएको उनले बताइन् ।

ट्रमा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताइन् ।

 सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।