समाचार

पेस्तोल देखाउँदै भिडियो बनाउने युवती पक्राउ



जनकपुरधाम, ६ कार्तिक । धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीय नजिमा खातुन रहेकी छन् । खातुनले समाजमा हिंसा र त्रास फैलाउन उत्प्रेरित गर्ने गरी सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेकी थिइन्। 

उनले उक्त गतिविधिको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत अपलोड गरेको पाइएपछि प्रहरी टोलीले उनलाई कार्तिक ४ गते राति करिब ९ः३० बजे गणेशमान चारनाथ नगरपालिका–९ बाट नियन्त्रणमा लिइएका हो ।

पक्राउ परेकी खातुनमाथि इलाका प्रहरी कार्यालय सबै लामा राखेर प्रचलित कानुनबमोजिम कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।