राजनीति

चीनमा भूकम्पबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त



काठमाडौँ, ७ कार्तिक । चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार र चीन सरकारप्रति समवेदना प्रकट गरेको छ । बिहीबार गएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको, दर्जनौँ घाइते भएको तथा सम्पत्ति र पूर्वाधारमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायको उद्धार, पुनःस्थापना र पुनर्निर्माण कार्य छिटो अघि बढ्ने विश्वास व्यक्त गरेको छ । साथै, नेपालले यस कठिन समयमा चीनप्रति ऐक्यबद्धता जनाएको छ ।