एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको छ । यसको विपरीत, गुगलको मातृ कम्पनी अल्फाबेटको खुद नाफा भने २५ प्रतिशतले घटेको छ ।
सेप्टेम्बर अन्त्यसम्मको तीन महिनामा माइक्रोसफ्टको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढेर ९२.३ अर्ब डलर पुगेको छ। क्लाउड कम्प्युटिङ र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यवसायको वृद्धिले कम्पनीको आम्दानी बढाउन मद्दत गरेको हो।
माइक्रोसफ्टले एआईमा अर्बौं डलर लगानी गरिरहेको छ। लागत व्यवस्थापन र बदलिँदो व्यावसायिक आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले क्यानडा, भारत, बेलायत र अमेरिकाका योग्य कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिने योजना सार्वजनिक गरेको थियो। उक्त योजनाअन्तर्गत करिब ६० हजार कर्मचारीलाई प्रस्ताव दिन सकिने जनाइएको छ।
एआईमा ठूलो लगानी गरिरहेको गुगलको मातृ कम्पनी अल्फाबेटको त्रैमासिक खुद नाफा भने अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले घटेको हो । नाफा घटेको विवरण सार्वजनिक भएपछि बुधबार गुगलको सेयर मूल्य ९.७५ प्रतिशतले ओरालो लागेको थियो।एआई पूर्वाधारमा बढ्दो लगानीले भविष्यमा अपेक्षित प्रतिफल दिन्छ कि दिँदैन भन्ने विषयमा लगानीकर्ताले चासो राखिरहेका छन्। माइक्रोसफ्टको आम्दानीमा वृद्धि र अल्फाबेटको नाफामा गिरावटले एआईमा भइरहेको ठूलो लगानीको प्रभावबारे प्रविधि क्षेत्रका कम्पनीहरूको वित्तीय नतिजालाई थप महत्त्वपूर्ण बनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।










प्रतिक्रिया दिनुहोस्