विश्व

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा



एजेन्सी, ८ कार्तिक । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ । प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले उक्त क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको हो ।

इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी बासिन्दालाई विस्थापित गराएको भोलिपल्ट उक्त घोषणा गरेको हो । रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापितहरूलाई घर फर्कन नदिइने बताएका छन् ।

शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा सङ्लग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही गर्ने सङ्केत गरेका छन् ।

इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ । निर्वाचनको दिन सबै स्थल मार्ग बन्द रहनेछन् ।