Banner News

दुईवटा स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर



सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान करिब ३:०० बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । प्रहरीले उक्त गाडीहरूमा ८ वटा पोकामा राखिएको करिब २ सय १० किलो गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको हो ।

पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ नम्बरका गाडी चालक), सप्तरीकै राजगढ गाउँपालिका–१ बस्ने ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारत बिहार प्रान्तको मधुबनी जिल्ला बस्ने ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्। त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ बस्ने ५९ वर्षीय राजकुमार शाह (को.१ च ८१८२ नम्बरका गाडी चालक) र सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय अमृत बिशुङ्खे पक्राउ परेका छन् ।

पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।