समाचार

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार



काठमाडौँ, १७ कार्तिक । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सुर्खेत पठाउनुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

हिजोदेखि गम्भीर अवस्थामा रहेकी बुढालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।