राजनीति

सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ: महामन्त्री संग्रौला



काठमाडौँ, १८ कार्तिक । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले सत्ताको दुरुपयोग गरेर कांग्रेसमाथि प्रहार भइरहेको र यसले सरकारको छाडातन्त्र नलुक्ने बताएकी छन् ।

उनले इनम सापकोटा प्रकरणमा सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने घामजस्तै छर्लङ्ग भएको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आममान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘लोकतन्त्रको शतत् पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ । प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’