अर्थ

परिसूचक १.४० अङ्कले बढ्यो



काठमाडौँ, १८ कार्तिक । सेयर बजार परिसूचकमा आज १.४० अङ्कले बढेर २६६५.५३ को विन्दुमा पुगेर बन्द भएको छ ।

परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ३५८ कम्पनीका २ करोड १२ लाख कित्ता सेयर ५९ हजार पटक किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ।

यद्यपि, समग्र बजारमा बढेका कम्पनीभन्दा घट्ने कम्पनीको संख्या धेरै देखिएको छ। आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको बजारमा नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१.७० रुपैयाँ पुगेको छ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद शेयर लगानीका लागि स्वीकृति प्रदान गरेको थियो । यसको प्रत्यक्ष प्रभाव आजको शेयर कारोबारमा देखिएको हो।