Banner News

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता : सभापति लामिछाने



काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् ।

आज नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए ।

उनले बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य संघले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई तत्काल जानकारी गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको बताए । उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउनसक्ने सम्भावनासमेत औँल्याउँदै उनले त्यस्तो अवस्था आए सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने बताए ।

उनले भने, ‘जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो,’ ‘नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।’