काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५ अंकमा कायम भएको छ ।
आज सेयर बजारमा १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ को घटेको छ । त्यस्तै कारोबार भएका १४ कम्पनीको मूल्य स्थिर रह्यो । दिनभर कारोबारका क्रममा बजारको उतारचढाव न्यून रह्यो । दिउँसो १ : ०७ बजे नेप्से अधिकतम २६६१ अंकसम्म पुगेको थियो । कारोबार रकम आज पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो ।
अन्यबाहेक सबै समूहगत सूचक बढेका छन् । तर ती समूहगत सूचकको वृद्धि १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार ०.०८ प्रतिशत बढे । अन्य समूह ०.८८ प्रतिशत घट्यो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशत बढ्यो । बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८, माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै घोराही सिमेन्टको ४.४३, नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७०, गुराँस लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो ।










प्रतिक्रिया दिनुहोस्