समाचार

लागूऔषध र पेस्तोलसहित भारतीय नागरिक पक्राउ



सुनसरी, २ फागुन ।  सशस्त्र प्रहरी बलले सुनसरीबाट हतियार र ठूलो परिमाणको लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको कोशी गाउँपालिका–३ जमुवा स्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरीलेको टोलीले उनलाई लागूऔषध र पेस्तोलसहित शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका व्यक्ति भारतको अररिया जिल्ला स्थित बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेको खुलेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ५० एजे ४२२९ नम्बरको अपाची मोटरसाइकल शंकास्पद देखिएपछि रोकी चेकजाँच गरेको थियो । 

उनको कम्मरको अगाडिपट्टि लुकाएर राखिएको इटालियन ९ एम.एम. स्वचालित पेस्तोल, त्यसको म्यागजिन १ थान, लोड अवस्थामा रहेका राउण्ड ३ थान गोली र पाइन्टको दाहिने खल्तीमा ब्राउन सुगर खैरो हिरोईन सय ग्राम बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । पासवानको साथबाट थप निट्राजेपाम ५ ट्याब्लेट, नाम नखुलेका ६ क्याप्सुल तथा नेपाली र भारतीय मुद्रा समेत बरामद गरिएको छ । बरामद नगदमा नेपाली रु. ७,००५ र भारतीय रु. ९,३८० रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । साथै, हतियार तथा लागूऔषध बोकेको अवस्थामा प्रयोग गरिएको अपाची  मोटरसाइकल पनि बरामद गरिएको कार्कीले बताए ।