समाचार

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु



काठमाडौँ, ३ फागुन । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो ।

बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती गम्भीर घाइते भएका थिए । दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका थिए ।

दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।